Thursday, January 15, 2009

ईन्टरनेट के हो र कसरी चलाउने ?

इन्टरनेट भन्ने शब्द हाम्रो लागि नयाँ होइन, यसको बारेमा हामीले मनग्ये सुनेका छौँ र हामीमध्ये कतिले त मनग्ये चलाएका पनि छौँ। आज हामी इन्टरनेट भनेको के हो र यसलाई कसरी चलाउने भन्ने बारेमा केही जानकारी लिन्छौँ।
इन्टरनेट के हो?
इन्टरनेटको बारेमा बुझ्नु अघि हामीले नेटवर्क भनेको के हो भन्ने कुरा थाहा पाउनुपर्छ। दुई वा दुईभन्दा बढी कम्प्युटरलाई आपसमा तार वा ताररहित माध्यमद्वारा जोडियो वा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा रहेको डाटा वा प्रोग्रामलाई चलाउन सकियो भने त्यहाँ नेटवर्क भएको मान्नुपर्छ। नेटवर्क भनेको कम्प्युटरहरूबीचको सन्जाल हो र यो आकारको आधारमा तीन प्रकारको हुन्छ।
१) Loal Area Network
यो सबैभन्दा सानो आकारको नेटवर्क हो। यस्तो नेटवर्क एउटा घर वा क्याम्पसमा केही किलोमिटरसम्म फैलिएको हुन सक्छ। हामीले साइवर क्याफे, स्कुल, क्याम्पस आदि ठाउँमा देखेको नेटवर्क यही नै हो।
२) Municipality Area Network
यो नेटवर्क LAN कै ठूलो रूप हो। २-४ वटा घर मात्र नभई यस्ता नेटवर्क पूरा सहरभरि फैलिएको पनि हुनसक्छ।
३)Wide Area Network
यस्तो नेटवर्कले ठूलो भौगोलिक क्षेत्र ओगटेको हुन्छ। यो प्रायः देश वा महादेशभरि फैलिएको हुन्छ र LAN तथा MAN को तुलनामा आकारको हिसाबले यो निकै ठूलो हुन्छ। दुई वा दुईभन्दा बढी नेटवर्कहरू जोडिएर इन्टरनेटवर्क (Internetwork) बन्दछ। इन्टरनेट (Internet), इन्टरनेटवर्कको बहुचर्चित उदाहरण हो। ई. सं. १९६० को मध्यतिर अमेरिकाको सुरक्षा निकायले बनाएको ARPANET को विकसित रूप नै आजको इन्टरनेट हो। इन्टरनेटले आजको समयमा पाएको अभूतपूर्व प्रसिद्धिका बारेमा निर्माणकर्ताहरूले शायद सोचेका पनि थिएनन् होला।
कम्प्युरबाट इन्टरनेट कसरी चलाउने त?
हाम्रो कम्प्युटरलाई इन्टरनेटसँग जोड्न वा सामान्य शब्दमा इन्टरनेट चलाउन तीनवटा कुराको आवश्यकता हुन्छ।
मोडेम (Modem) भएको कम्प्युटर।
टेलिफोन लाइन।
इन्टरनेट खाता
इन्टरनेट चलाउन तल दिइएका बुँदाहरूको अनुसरण गर्नुपर्दछ।
१) कम्प्युटरमा फोन लाइन जोड्ने
हाम्रो कम्प्युटरमा मोडेम छ भने हामीले सिपियु (CPU) को पछिल्लो भागमा फोनको तार जोड्न मिल्ने ठाउँ देख्छौँ। त्यो ठाउँमा फोनको तार लगेर जोड्नुपर्छ। यदि त्यस्तो ठाउँ छैन भने हाम्रो कम्प्युरटरमा मोडेम भन्ने पुर्जा नहुन सक्छ र हामीले त्यसलाई बजारबाट किनेर हाम्रो कम्प्युटरमा जडान गर्नुपर्छ। यसको मूल्य हजार रूपैयाँसम्म पर्न सक्छ।
२) इन्टरनेट खाता खोल्ने
कुनै पनि इन्टरनेट सेवा दिन सक्ने कम्पनीमा निश्चित पैसा तिरेर इन्टरनेट खाता खोल्न सकिन्छ। पाल्पाको सन्दर्भमा हामीले नेपाल टेलीकम, वर्ल्डलिंक कम्युनिकेशन्स, बायु कम आदिबाट इन्टरनेट सुविधा पाउन सक्छौँ। यस्ता कम्पनीहरुलाई इन्टरनेट सेवा प्रदायक (ISP) भनिन्छ। खाता खुलेपछि कम्पनीले हामीलाई युजर नेम, पासवर्ड र फोन नम्बर दिन्छ। पासवर्ड हामीले निकै जतनसाथ गोप्य राख्नुपर्छ।
३) युजरनेम, पासवर्ड र फोन नम्बर राख्ने ठाउँ कसरी बनाउने?
हामीमध्ये धेरैले विन्डोज एक्सपी चलाउँछौँ। त्यहाँ युजर नेम, पासवर्ड र फोन नं. राख्न निश्चित ठाउँ बनाउनुपर्छ। त्यसको लागि तल भनिएअनुसारको कदम चाल्नुपर्छ। सबैभन्दा पहिले माई नेटवर्क प्लेसेज (My Network Places) मा डबल क्लिक गर्ने। त्यहाँभित्र बायाँपट्टि (ँिेौ णेतौोरक चोननेछतिोनस) भनेर लेखिएको लिंक हुन्छ। त्यसमा क्लिक गरेपछि फेरि त्यही ठाउँमा (Create New Connection) भन्ने लिंक देखिन्छ। त्यसमा क्लिक गरेमा एउटा बट्टा (Dialogue Box) खुल्छ। त्यसमा कम्प्युटरको निर्देशनअनुसार आवश्यक विवरण भर्दै Next भन्ने बटनथिच्दै जानुपर्छ र अन्त्यमा Finish थिच्नुपर्छ। त्यसो गरेपछि एउटा नयाँ आइकन बन्छ (दुईवटा कम्प्युटरको बीचमा फोन भएको) त्यस आइकनमा क्लिक गरेर युजरनेम पासवर्ड र फोन राख्ने ठाउँ रहन्छ। सबै कुरा निश्चित ठाउँमा राखेर Connect भन्ने बटन थिच्नुपर्छ। युजरनेम र पासवर्ड सही भएमा मनिटरको दायाँपट्टी पुछारमा एउटा आईकन गएर बस्छ र (ISP) is now connected भन्ने सूचना आउँछ। इन्टरनेट जोडिएपछि हामी विभिन्न किसिमका ब्राउजर (Browser) को मद्दतले वेबसाइट (Website) हरू हेर्न सक्छौँ। Internet explorer, Netscape Navigator, Opera, Mozila Firefox जस्ता कुनै पनि ब्राउजर खोलेर त्यसको Address Bar मा आफूले हेर्न चाहेको साइटको नाम लेखेर क्लिक गरेमा त्यो साइट हाम्रो ब्राउजरमा खुल्छ। जस्तै कान्तिपुर दैनिकको ठेगाना www.ekantipur.com लेखेर इन्टर गरेमा इन्टरनेटमा हाम्रो ब्राउजरमा कान्तिपुर दैनिकको गृह पृष्ठ खुल्छ। यसरी हाम्रो काम सकिएपछि इन्टरनेट बन्द गर्न दायाँपट्टी पुछारमा भएको आइकनलाई डबल क्लिक गरेमा एउटा बट्टा खुल्छ। त्यस बट्टामा हामीले कतिबेर इन्टरनेट चलायौँ भन्ने सूचना हुन्छ। सोही बट्टाको पुछारमा रहेको Disconnect भन्ने बटन थिचेमा हाम्रो कम्प्युटरमा इन्टरनेट बन्द हुन्छ ।