विश्वमा जुन अनुपातमा कम्प्यूटर र कम्प्यूटरमा आधारित सूचना प्रविधिको विकास भइरहेको छ त्यही अनुपातमा व्यापारिकरण पनि बढिरहेको छ। हामीले जति मात्रामा सफ्टवेयरको प्रयोग गर्छौ ती सबै सफ्टवेयर किनेर प्रयोग गरिरहेका छैनौँ। नेपालमा प्रयोग गरिने अधिकाँश सफ्टवेयरहरु प्रतिलिपि गरिएका हुन्छन्। हामीले अधिकाँश सफ्टवेयरहरु गैरकानूनी रुपमा प्रयोग गरिरहेका हुन्छौँ। हामीले एउटा कम्प्यूटरको हार्डवेयर किन्दा जती मूल्य पर्छ त्योभन्दा बढी मूल्य सफ्टवेयरको पर्न जान्छ तर अधिकाँश नेपाली प्रयोगकर्ताहरु यो वास्तविकताप्रति अनभिज्ञ छन्। तर कुनै दिन यस्तो पनि आउन सक्छ जुनदिन हामीले हाम्रो कम्प्यूटरमा प्रयोग गर्ने सफ्टवेयरहरुले बिना लाइसेन्स काम गर्दैनन्। नेपालमा अहिले प्रतिलिपि अधिकारको कानून त्यती प्रबल भइसकेको छैन र हामीले प्रतिलिपि गरिएका सफ्टवेयरहरु प्रयोग गर्न पाइरहेका छौ तर जब प्रतिलिपि अधिकार कानून राम्रोसंग लागु हुन्छ त्यसपछि हामीले सबै सफ्टवेयरहरु किन्नैपर्छ वा कम्प्यूटर प्रयोग गर्न नै छोड्नुपर्छ। यस्तो अवस्थामा कम्प्यूटर नियमित रुपमा प्रयोग गर्नेहरुको लागि समस्याको सृजना हुन्छ।
यो समस्याको समाधान के त?
यो समस्याको एउटै समाधान हो खुला स्रोत सफ्टवेयर। हामीमध्ये धेरैले सञ्चालन प्रणालीको रुपमा माइक्रोसफ्ट विन्डोज प्रयोग गर्छौँ। माइक्रोसफ्ट विन्डोजमा माइक्रोसफ्ट कर्पोरेशनले हामीलाई जुन जुन सुविधा दिएको हुन्छ त्यही सुविधा मात्र प्रयोग गर्न पाउँछौँ। त्यसको विकल्पको रुपमा अहिले लिनक्स सञ्चालन प्रणाली बजारमा आएको छ। लिनक्स खुला स्रोत सफ्टवेयरको रुपमा विकसीत भएको सञ्चालन प्रणली हो। लिनक्स र लिनक्समा चल्ने कुनैपनि सफ्टवेयरहरु किन्नु पर्दैन। लिनक्समा पनि हामीले विन्डोजमा जस्तै लेआउट डिजाइनिङ, वेब डिजाइनिङ, मल्टीमिडिया, इन्टरनेट, च्याट, सफ्टवेयर विकास र अन्य सबै प्रकारका कम्प्यूटर कर्महरु गर्न सक्छौ। लिनक्समा हामीले विन्डोजमा चल्ने (विन्डोज कम्प्याटीबल) सफ्टवेयरहरु चलाउन सक्दैनौ तर त्यस्तै प्रकारका अन्य सफ्टवेयरहरु प्रयोग गर्न सक्छौँ। उदाहरणको लागि हामीले विन्डोजमा माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर चलाउँछौँ भने लिनक्समा मोजीला ब्राउजरबाट इन्टरनेट चलाउन सकिन्छ। त्यस्तै माइक्रोसफ्ट अफिसको विकल्प ओपनअफिस, फोटोसपको विकल्प गिम्प इमेज एडिटर, च्याटिङ मेसेन्जरहरुको विकल्पको रुपमा गाइम मेसेन्जर जस्ता सफ्टवेयरहरु लिनक्समा उपलब्ध छन्। लिनक्स सञ्चालन प्रणालीको सोर्सकोड पनि खुला हुन्छ। हामीलाई विकास उपकरण C++, Visual Basic चलाउन आउँछ भने हामीले लिनक्सलाई हाम्रो सुविधाअनुसार सुधार पनि गर्न सक्छौँ जुन सुविधा माइक्रोसफ्ट विन्डोजमा छैन। अहिले लिनक्स सञ्चालन प्रणाली नेपाली भाषामा स्थानीकरण पनि गरिएको छ। मदन पुरस्कार पुस्तकालयले लिनक्सको नेपाली संस्करण नेपालीनक्स बजारमा ल्याइसकेको छ। जुन सञ्चालन प्रणाली प्रयोग गर्दा हामीले कम्प्यूटर नेपाली भाषामै सञ्चालन गर्न सक्छौँ। नेपालीनक्सको बारेमा विस्तृत जानकारीको लागि हामीले नेपालीनक्सको आधिकारीक वेबसाइट www.nepalinux.org मा जान सक्छौँ। नेपालीनक्स पहिले विन्डोज सिक्नेहरुको लागि केही गाह्रो हुनसक्छ तर सुरुमै नेपालीनक्स सञ्चालन प्रणलीमा कम्प्यूटर सिक्नेहरुको लागि भने नेपालीनक्स धेरै नै सजिलो छ। नेपाली भाषविज्ञानमा काम गर्नेहरुको लागि त नेपालीनक्स धेरै नै उपयोगी छ। नेपालीनक्सको विकास र वितरणमा नेपालका कम्प्यूटर प्रयोगकर्ताहरु र सफ्टवेयर विकासकर्ताहरु लाग्ने हो भने नेपाली भाषामा कम्प्यूटर कर्मको भविष्य उज्वल छ।
परदेश गएपछि हुने रोमिङको लफडा
2 weeks ago
No comments:
Post a Comment