प्रविधिको विकाससंगै प्रविधिको स्थानीकरण पनि तीब्र रुपमा बढेको छ। यसैको फलस्वरुप परम्परागत रुपमा अंग्रेजी भाषामा प्रयोग गरिँदै आइएको कम्प्यूटर पनि अब नेपाली भाषामा चल्न थालेको छ। पछिल्लो समयमा
आएर मदन पुरस्कार पुस्तकालयले खुला स्रोत सफ्टवेयरको रुपमा विश्वभारिने प्रयोग गरिँदै आइएको सञ्चालन प्रणाली लिनक्सलाई नेपालीकरण गरेपछि नेपालीमा कम्प्यूटर कर्मको सुरुवात भएको हो। हुन त कम्प्यूटरमा नेपाली भाषाका कामहरु गर्न लागिएको धेरै भयो तर अहिलेसम्म कम्प्यूटरले नेपाली भाषा बुझ्न सकेको थिएन पछिल्लो समयमा नेपाली युनिकोडको विकासपछि मात्र कम्प्यूटरले नेपाली भाषा बुझ्न थालेको हो। हामीले परम्परागत रुपमा प्रयोग गर्ने ट्रु टाइप फन्ट (प्रिती, कान्तिपुर, सगरमाथा, हिमाली) हरुमा नेपाली अक्षरहरु देखिन्छन् तर कम्प्यूटरले ती सबैलाई अंग्रेजी भाषाकै रुपमा बुझेको हुन्छ। तपाइले ट्रु टाइप फन्टमा कमल लेख्नुभयो भने कम्प्यूटरले त्यसलाई sdn बुझ्छ। तर नेपाली युनिकोडमा यस्तो हुँदैन। नेपाली युनिकोडमा टाइप गरिएका अक्षरहरु पूर्णरुपमा नेपाली अक्षरहरु हुन् र कम्प्यूटरले यी अक्षरहरुलाई नेपाली अक्षरकै रुपमा बुझ्छ।
नेपालीनक्स के हो त?
नेपालीनक्स खुलास्रोत सफ्टवेयरको रुपमा रहेको लिनक्स सञ्चालन प्रणालीको नेपाली संस्करण हो। यो सञ्चालन प्रणाली प्रयोग गरेपछि कम्प्यूटर पूर्णरुपमा नेपालीमै चलाउन सकिन्छ। नेपालीनक्समा पनि नेपाली युनिकोड नै प्रयोग गरिएको छ। मर्फिक्स र नोपिक्स प्रविधि प्रयोग गरिएको जीएन्यु लिनक्सलाई नेपालीनक्सको रुपमा विकास गरिएको छ। यसको प्रथम संस्करणमा जीनोम डेस्कटप परिवेश प्रयोग गरिएको थियो। अहिले आएको यसको पछिल्लो संस्करण नेपालीनक्स २.० मा जीनोम डेस्कटपसंगै केडिई डेस्कटप परिवेश पनि समावेश गरिएको छ। यसका दुवै डेस्कटप परिवेश प्रयोग गरिएका संस्करण हरुको छुट्टा छुट्टै सीडीहरु पाइन्छ। हामीले सीडीबाट लाइभ बुट गरि तीनीहरु प्रयोग गर्न सक्छौँ। त्यसपछि ती दुइमध्ये आफूलाई अनुकुल रोजेर चलाउन सक्छौ।
नेपालीनक्स कसरी चलाउने?
नेपालीनक्स चलाउनको लागि हामीलाई न्यूनतम ६४ एम्बी र्याम, पेन्टीयम १ वा सोभन्दा विकसीत प्रोसेसर, सीडीरोम ड्राइभ र हार्डडिस्कमा ३ जीबी खालीठाउँ चाहिन्छ। यसलाई सीडीबाट लाइभ बुट गरेर वा हार्ड डिस्कमा स्थापना गरेर चलाउन सकिन्छ। लाइभ बुट गर्दा हार्डडिस्कमा राख्नु पर्दैन। लाइभ बुट गर्नको लागि तपाइले सुरुमा आफ्नो कम्प्यूटरको पहिलो बुट डिभाइसको रुपमा सीडीरोमलाई कन्फिगर गर्नुपर्ने हुन्छ। यो काम तपाइलाई आउँदैन भने आफ्नो कम्प्यूटर प्रशाशक वा कुनै जानेको व्यक्तिको सहयोग लिन सक्नुहुन्छ। त्यसपछि सिडीरोम ड्राइभमा सीडी राख्नुहोस् र कम्प्यूटर पुनः सुरु (रिस्टार्ट) गर्नुहोस् अब तपाइको कम्प्यूटरमा लेपालीनक्स खुल्छ। तपाइले यसपछि सबैप्रकारका कम्प्यूटर कर्महरु नेपालीमै गर्न सक्नुहुन्छ। तपाइले आफ्नो कम्प्यूटरमा विन्डोज वा अन्य कुनै सञ्चालन प्रणाली राख्नुभएको छ भनेपनि यसले कुनै असर गर्दैन। तपाईले जतिबेर सीडीबाट नेपालीनक्स चलाउनुहुन्छ त्यतीबेरसम्म तपाइको पुरानो सञ्चालन प्रणालीले कुनै काम गर्दैन। तपाइले कम्प्यूटर बन्द गरेर नेपालीनक्सको सीडी बाहिर निकालेपछि तपाइको कम्प्यूटर पुरानो सञ्चालन प्रणालीसंगै खुल्छ। नेपालीनक्समा तपाइले गरेका कामहरु पेनड्राइभमा सेभ गरेर राखेको खण्डमा तपाइले जुनसुकै बेलापनि ती फाइलहरु प्रयोग गर्न सक्नुहुन्छ। हार्ड डिस्कमा सेभ गर्नको लागि तपाइले हार्ड डिस्कलाई माउन्ट गर्नुपर्ने हुन्छ। यसका लागि भने तपाईले नेपालीनक्सको म्यानुअल वा नेपालीनक्सको वेबसाइट हेर्न सक्नुहुन्छ।
Thursday, December 4, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment